मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फू गाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उनीहरु बिहीबार साँझ सम्पर्कविहीन भएको सूचना प्राप्त भएको बताउनुभयो ।
तिब्बतसँग सिमाना जोडिएको सीमावर्ती दामोदरकुण्ड क्षेत्रको मुस्ताङ-मनाङ सरिबुङ पास समुन्द्री सतहदेखि छ हजार मिटर उचाइमा पर्दछ ।
त्यहाँ भारी हिमपात भएकाले विदेशी पदयात्रीसहित १४ जनाको टोली सम्पर्कविहीन भएको सिडियो भुसालको भनाइ छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्पर्कविहीन रहेका पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरेको छ ।
सो धर्मशालामा खाने, बस्नेसहित अत्यावश्यक सामान व्यवस्थित रहेकाले सम्पर्कविहीन टोली त्यहाँ हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी भुसालले धर्मशालामा उहाँहरूलाई कुनै समस्या नपर्ने पनि बताउनुभयो ।
सम्पर्कविहीन भएका पदयात्री रहेको स्थान पत्ता लगाउन सकेमा उद्धारका लागि हेलिकप्टर पठाउने तयारी गरिएको भनाइ उहाँको छ ।।

प्रतिकृयाहरु