बुढानीलकण्ठ, काठमाडौं — बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ धनेश्वर स्थित निर्माण हुन लागेको नगर गौरवको योजना “बुढानीलकण्ठ खेलमैदान” का लागि जग्गा अधिग्रहणको कार्य औपचारिक रूपमा सुरु गरिएको छ। मैदान निर्माण स्थलमा ९ वटा व्यक्तिगत कित्ता समावेश भएकाले जग्गाधनीहरूसँग सहकार्य र समन्वयमा मुआब्जा वितरण गरी प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ। मुआब्जा वितरणका लागी आर्थिक वर्ष २०८१/८२ मा नगरस्तरीय बजेटमार्फत खेलमैदान निर्माणको लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
सो बजेट अन्तर्गत ४ जना जग्गाधनीलाई असार २५ गते बुधबार नगर प्रमुख मिठाराम अधिकारीले चेक हस्तान्तरण गरी मुआब्जा रकम भुक्तानी दिनुभएको छ । तिनका नाममा रहेको जग्गा नगरपालिकाको नाममा पास भइसकेको छ।
भुक्तानी प्राप्त गर्ने जग्गाधनी र विवरणः
-
ठाकुर प्रसाद अधिकारी — कित्ता नं. १७३२, क्षेत्रफल ७ आना (रकम रु.१,२३,६०,६३०.१२/-)
-
संगिता पाठक — कित्ता नं. १७३१, क्षेत्रफल २.२ आना (रकम रु.४६,३१,७८५.९२/-)
-
लक्ष्मी माया महर्जन — कित्ता नं. २८१, क्षेत्रफल ७.३ आना (रकम रु.१,०५,५३,७३४.५६/-)
-
सिरमान तामाङ — कित्ता नं. १३७९, क्षेत्रफल ४.३ आना (रकम रु.६५,५६,६४४.६२/-)
नगरपालिकाका अनुसार मुआब्जा रकम निर्धारण गर्दा नक्सा (ट्रायल), जग्गाधनी पुर्जामा खुलेको क्षेत्रफल र नक्सामा बाटो भए/नभएको वा सरकारी प्रतिले छोएको अवस्थालाई ध्यानमा राखि नापि कार्यालय, चाबहिलले प्रतिवेदन प्रस्ताव जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पेश गरेको थियो। सोहि प्रतिवेदनको आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उक्त मुआब्जाको रकम निर्धारण गरेको नगरपालिकाले जनाएको छ ।
अधिग्रहण प्रक्रियामा रहेका बाँकी ५ वटा कित्ता जग्गाको मुआब्जाको लागि आर्थिक वर्ष २०८२/८३ को नगरस्तरीय बजेटबाट पुनः ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। प्रक्रिया अनुसार चाँडै ती जग्गाहरूको भुक्तानी कार्य सम्पन्न हुने वडा अध्यक्ष श्रीराम के.सी.ले जानकारी दिनुभयो।
यसका साथै नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट आ.व. २०८२/८३ मा बुढानीलकण्ठ खेलमैदान निर्माणका लागि ३ करोड रुपैयाँको बजेट विनियोजित भएको छ । मन्त्रालयबाट विनियोजित रकमबाट स्ट्याण्डर्ड साईज फुटबल ग्राउण्ड , प्याराफिट, सौचालय, पार्किङ लगायत अन्य आवश्यक पुर्वाधारहरु निर्माण हुनेछन् । सँगै खेलकुद परिषदबाट मैदानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदै गरेको वडाध्यक्ष के.सी.ले जानकारी दिनुभयो ।
प्रतिकृयाहरु