पछिल्लो समय प्रविधिको प्रयोगसँगै अनलाइन ठगिका घटनाहरुमा वृद्धि भएको छ । प्रहरीका अनुसार सामाजिक संजाल, मोबाइल एप्स, र नक्कली वेबसाइटहरुमार्फत ठगिने क्रम बढ्दै गएको छ । यस्तै कञ्चनपुरमा सरकारी कार्यालयको पेजमार्फत अनलाइन ठगि भएको पाइएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का धनराज उपाध्यायले मोटरसाइकलको चालक अनुमती पत्र (लाइसेन्स)का लागि गत चैतमा फारम भर्नुभयो । लिखित परीक्षामा पास हुनुभएका उहाँ प्रयोगात्मक परीक्षामा भने दुई पटक अनुतिर्ण हुनुभयो ।
त्यहिबीच यातायात व्यवस्था कार्यालयको पेजबाट म्यासेज आयो । जसमा धनराजको सम्पूर्ण बायोडाटासहित पाँच हजारमा लाइसेन्स बनाइदिने प्रस्ताव गरियो ।
आफूलाई यातायातको कर्मचारी बताउने ती व्यक्तिले पहिले नम्बर मागे र पछि पाँच हजारमा लाइसेन्स लैजान भन्दै पटक पटक फोन पनि गरे । दुई पटक अनुतिर्ण भइसकेकाले धनराजले फोनमा भनेअनुसार ईसेवामार्फत पाँच हजार रकम भुक्तानी गर्नुभयो । तर महिनौसम्म लाइसेन्स आएन, बरु थप रकम माग गरेपछि उहाँलाई आफू ठगिमा परेको महशुस भयो ।
पछिल्लो समय अनलाइन ठगिका घटना बढेसँगै उजुरीहरु पनि दिनप्रति दिन बढ्दै गएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिममा ३७६ वटा विभिन्न अनलाइन ठगिका उजुरी दर्ता भएका छन् ।
जसमा अनलाइन सपिङ्ग, अनलाइन भूक्तानी, विदेश पठाइ दिने तथा सामाजिक संजालमार्फत विभिन्न प्रलोभनमा पारी छ करोड नौ लाख ३७ हजार रुपैयाँ बढी अनलाइन ठगि भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । यस्तै, कञ्चनपुरमा मात्रै एकसय ५० वटा उजुरी परेका छन् । जसमा कञ्चनपुर प्रहरीले ५१ लाख बढी रकम फिर्ता गराइसकेको छ ।
अनलाइन ठगिका घटनामा विभिन्न प्रलोभन देखाएर अग्रिम रकम माग्ने र रकम पठाएपछि खाताहरु बन्द गर्ने गरेको पाइएकाले आधिकारीता बुझेर मात्रै रकम भूक्तानी गर्न प्रहरीले आग्रह गरेको छ ।
पछिल्लो समय प्रविधिको विकाससँगै यसको प्रयोग पनि बढ्दो छ । त्यसैले अनलाइन कारोबार वा सामाजिक संजालको प्रयोग गर्दा सावधानी अपनाउन तथा सचेत भएर प्रयोग गर्न आवश्यक देखिन्छ ।
प्रतिकृयाहरु