अस्ट्रेलियाको सिड्नीस्थित एउटा सपिङ मलमा कैयौँलाई छुरा हानिएपछि प्रहरी कारबाहीमा एकजना पुरुषलाई गोली प्रहार गरिएको विवरण सार्वजनिक भएको छ।

उक्त आक्रमणको घटनासँगै त्यहाँ भाग दौड मच्चिएपछि प्रहरीले व्यापक कारबाही गरेको छ।

स्थानीय सञ्चारमाध्यमहरूले बोन्डी जक्शनस्थित वेस्टफिल्ड मल भित्र गोली चलेको जनाएका छन्।

प्रहरीले त्यहाँको समय अनुसार अपराह्ण ४ बज्नै लाग्दा एक जना पुरुषलाई गोली हानिएपछि त्यहाँ अवस्था संवेदनशील बनेको घोषणा गरेको थियो।

गोली प्रहार हुनुअघि छुरा हानिएका घटनाहरू पनि भएको बताइएको छ।

त्यहाँ त्यस्ता आक्रमणका घटनाहरू जारी रहेको भन्दै मानिसहरूलाई उक्त क्षेत्रतर्फ नजान भनिएको छ।

आक्रमण भएको क्षेत्रलाई खाली गरिएको छ भने घटनास्थलमा एम्बुलेन्स र प्रहरीका गाडीहरू भएका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन्।