शरीरको भारी घटाउन सिँढीको धर्कोमा चढ्ने र ओर्लनेको लर्को थियो । चण्डेश्वरी देवल नजिक ऐसेलुको झाडी मुन्तिर एउटा अधबैँसे मान्छे छटपटिइरहेको दृष्य मानिसहरूले देखे पनि नदेखे झै गरी हिडिरहेका थिए । मैले वेवास्ता गर्न सकिन । नजिकै गएर सुस्तरी हल्लाउदै सोधेँ, ” तपाईलाई केही समस्या छ ? ऊ बोल्दै बोलेन । केवल घोप्टोपरी रह्यो । मैले पुन: उस्लाई हल्लाउँदै सोधेँ ” तपाईको घर कहाँ हो ? तपाईको नाम के हो ? के तपाई बिरामी हो ? ”

रिसका लप्का निकालेका उसका राता आँखाले भनिरहेका थिए ‘घर खामो गाडेको ठाँउमा, नाम आमा लाई सोध, म जे सुकै हु तँलाई के मतलब ‘ तर उस्को आँखाको भाकाको अनुमानित जवाफ पल भरमै गलत प्रमाणित भयो ।

मलाई अङ्गालो हालेर उस्ले रुँदै भन्यो ” म मर्न चाहान्न । बाँच्न र बचाउनका लागि परदेशमा हड्डी घोटी आधा जीवन बिताएँ तर आज एक्लो भएँ ।” मैले उस्लाई सुमसुमाउदै मन मनमा सोचेँ ‘कोरोना, भुकम्प, बाढी वा डढेलो यस्तै विपत्तिमा आफन्त गुमायो होला’ । भन्ने ठानेर उस्लाई सान्त्वना दिदै भने-” विपत्तिमा धैर्य हुनुहोस । आएको विपत्ति टार्न सकिदैन ।”

उस्ले मलाई अङ्गालोबाट फुत्त हुत्याउँदै भन्यो – “आएको हैन ल्याएको महाविपत्ति हो । सन्तान,श्रीमती, बन्धु संगै छन् तर साथमा छैनन । दुरदराजका दुष्ट हातमा छन् । आफन्त पराई भए । दुराचारी, अत्याचारी जस्तै …चारी र …कारी नजिकिए’ । जीवित तर मरे तुल्य भए धेरै मान्छे । घर भरी मान्छे तर मान्छे भएको आभाष भएन। खेल खुशी त के धितमरुन्जेल रुने समेत ठाउँ भएन । व्यथा पढ्ने र दुख सुन्ने फुर्सद कसैलाई छैन ।” उस्ले आकास तर्फ मुन्टो फर्काउदै फेरि भन्यो-“हे भगवान मान्छेलाई किन अफिम बनाउन सिकाईस ? मैले उत्सुक्ताका साथ सोधेँ “कहाँ छ अफिम ? निकालेर फ्याकि देऊ।” उस्ले मलाई हेर्दै खल्तिमा हातहाल्यो र एउट बस्तु झिकी भुईमा पछार्यो र कुल्चदै भन्यो- “मान्छे भित्रको मानवता ह्रास गरी बनाउदै छ लासै लास, मेरो खल्तिको अफिम त मैले फ्याँके जनजनको खल्तिको अफिम कस्ले फ्याँकिदेला र मान्छे मान्छे होलान, हे मानव !” भन्दै उस्ले आफैले फुटाएकाे माेवाइल नियाली रह्यो ।

       गोपीराम भण्डारी