पानी पर्न रोकिएसँगै पृथ्वीराजमार्गमा सवारीसाधनको आउजाउ सुरु भएको छ ।

पहिरोको जोखिमका कारण शनिबार साँझदेखि २० गतेसम्म सवारी आवागमन निषेध गरेको भएपनि काठमाडौँको नागढुंगाबाट बाहिरिएर अन्यत्र जिल्लाहरुमा जाने सवारीहरुलाई छोडेपछि पृथ्वी राजमार्गको धादिङ खण्डमा पनि सवारीको चहलपहल सुरु भएको हो ।

चितवनतर्फबाट काठमाडौँ आउने सवारी साधनहरु पनि पृथ्वी राजमार्गमा गुड्न थालेका छन् ।

जल तथा मौसम विज्ञान विभागले राजधानीबाट पश्चिमतर्फ जाने सवारीसाधन सञ्चालन गर्न सकिने जनाएपछि राजमार्गमा यात्रुहरुको आउजाउ पनि बाक्लिएको हो ।

ठूलो पहिरो र लेदो रहेको धुनिबेसी नगरपालिका-९ तिरतिरे धारा, सिक्रेघुम्ती, धुनिबेसी-८ बाहुनडाँडा, थाक्रे-८ सातकिला, गजुरी-६ जरेखेत, वेनिघाट रोराङ-३ सलाङघाट र सितलबजार, वेनिघाट रोराङ-५ बाँदरमोडसहित ६ ठाउँमा सडक एकतर्फी रुपमा संचालन भएको छ ।।