सडक प्रयोगकर्ताहरुको सुरक्षाका लागि सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ ।

आजबाट सुरु भएको ट्राफिक प्रहरीको यो विशेष अभियान वैशाख ८ गतेसम्म चल्ने छ । सवारी साधानहरुमा पनि सबैभन्दा धेरै दुर्घटनामा पर्ने गरेको दुई पाङग्रे सवारीलाई मध्येनजर गर्दै,  चालकहरुलाई विभिन्न सवारी दुर्घटनाबाट बच्ने सचेतनामुलक सन्देशप्रवाह सुरु गरिएको छ ।

यस्ता कार्यक्रम काठमाडौं उपत्यकाको विभिन्न सडकहरुमा अबको ७ दिनसम्म हुने छन् । नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले विशेष सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ ।

हाम्रो सडक, मेरो सवारी ट्राफिक नियम पालना पनि मेरो जिम्मेवारी भन्ने ट्राफिक प्रतिवद्धताका साथ यो अभियान ट्राफिक प्रहरीले सुरु गरेको हो । आइतबारबाट सुरु भएको यो अभियान आगामी बैशाख ८ गतेसम्म सञ्चालन हुनेछ ।

यो अवधिभर ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमको आयोजना गर्नेछन् । जसमा यात्रुमैत्री विशेष अभियानमा आरक्षण सिट कार्यन्वयन, बढी भाडा कारवाही, भाडादर सुची चेकजाँच, यात्रुमैत्री व्यवहारको अनुगमन समेत गर्ने छन् ।

त्यस्तै पैदलयात्रीसंग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसंग २ मिनेट कार्यक्रम, माईति घर—सिंहदरबार—कमलादीमा जिरो ट्राफिक भ्वाइलेन्स कार्यक्रम सञ्चालन, किप किलियर, यान्त्रिक÷प्रदुषण चेकजाँच, स्पेयर टायर चेकजाँच, प्रहरी ब्याडबाट डिस्प्ले, ट्राफिक एफ.एममा ट्राफिक सचेतना विशेष संवाद कार्यक्रम लगायत कार्यक्रम यो अभियानभरी सञ्चालन हुने छन् ।

चालक र सहचालकका लागि चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले सुरक्षित सडक यात्राका लागि यात्रुको पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहने जनाएको छ ।

काठमाडौं उपत्यकामा दैनिक १५ देखि २० वटासम्म सवारी दुर्घटना हुने गरेको तथ्याङ्क छ । जसमा १ जनाले दैनिक ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले मानवीय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यो अभियानले ट्राफिक व्यवस्थापनमा केही सहज हुने विश्वास लिएको छ ।