काठमाडौं मङ्सिर १७ गते।
काठमाडौँ जिल्लाको उत्तरी भेगमा अवस्थित बाल विकास बोर्डिङ हाइ स्कुलका तीन जना छात्रछात्राहरू चिनियाँ दूतावासद्वारा पुरस्कृत भएका छन् ।
लामो समयदेखि नि: शुल्क रूपमा चाइनिज भाषाको कक्षा सञ्चालन हुँदै आएको यस स्कुलका विद्यार्थीहरू विगतमा पनि चाइनिज भाषामा अब्बल भएर विभिन्न बिधामा पुरस्कृत भएका थिए ।
शैक्षिक सत्र २०८१ मा चाइनिज भाषा प्रशिक्षक निनि ( Wang Wanni) द्वारा अत्यन्तै प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको चाइनिज भाषाको कक्षामा उत्कृष्ट प्रस्तुति र गतिविधि गर्ने विद्यार्थीहरूलाई चिनियाँ दूतावासद्वारा सञ्चालित अन्तर्राष्ट्रिय स्वयंसेवक चाइनिज भाषा प्रशिक्षक कार्यक्रमअन्तर्गत बिसौँ वार्षिकोत्सवमा नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको हो ।
छात्रवृत्ति कार्यक्रम २०२४ को लागि कक्षा १० मा अध्ययनरत एलिशा गुरुङले रू एक लाख ,कक्षा १० मै अध्ययनरत स्नेहा अधिकारीले रू पचास हजार र कक्षा ८ मा अध्ययनरत रिन्चेन तितुङले पनि रू पचास हजार नै प्राप्त गरेका छन् । दूतावासद्वारा पुरस्कृत हुने विद्यार्थीलाई प्रशंसापत्र र विद्यालयलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । विद्यालयको तर्फबाट कार्यक्रममा उत्कृष्ट नृत्यको प्रस्तुति गरिएको थियो ।
छात्रवृत्तिको लागि प्रदान गरिएको नगद रकम अभिभावकको प्रत्यक्ष उपस्थितिमा पुरस्कृत विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य श्री महेश कुमार श्रेष्ठलगायत विद्यालय संयोजक श्री लक्ष्मण तितुङ र अतिरिक्त क्रियाकलाप संयोजक श्री सुकमान लामाको पनि उपस्थिति थियो ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको प्रोत्साहनको लागि विद्यालयको बिहानीको प्रार्थनामा पनि विद्यालयद्वारा सम्मानित गरिएको थियो । पुरस्कृत विद्यार्थीका अभिभावकज्यूले पनि उक्त सम्मान कार्यक्रममा आफ्नो अभिव्यक्ति दिँदै विद्यालयप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
चाइनिज भाषामा उत्कृष्ट प्रस्तुति गर्न सकेको खण्डमा विद्यार्थीको भविष्य समुज्ज्वल रहेकाले यस भाषाको कक्षामा दत्तचित्त भएर भाषामा दक्ष हुनका लागि प्राचार्यज्यूले सबै विद्यार्थीलाई आग्रह गर्नुभएको थियो ।
प्रतिकृयाहरु