काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक घरको कोठाबाट एकै समयमा दुई जनाको शव फेला परेको छ ।शुक्रबार राति करिब ९ बजेर ४० मिनेट जाँदा थ्री स्टार किड्स जोन स्कुलको कम्पाउन्डभित्रको घरमा उनीहरू मृत अवस्थामा फेला परेका हुन् ।उक्त घर सुनितासिंह ठकुरीको भएको जानकारी प्रहरीले दिएको छ। 

जिल्ल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार भारत, पञ्जाब चण्डीगढ घर भएका ५४ वर्षीय परम नारायण गिलले सो घर भाडामा लिएर बस्दै आएका थिए । घरको तलको बीच कोठामा भेटिएको शव धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अञ्जना तामाङ र भारतीय नागरिक परमनारायण गिलको भएको प्रहरीले बताएको छ। घटनाको प्रहरीले  थप अनुसन्धान गरिरहेको छ। 

बोहराका अनुसार तामाङ सोफामा मृत अवस्थामा भेटिएकी थिइन् । उनको टाउकोमा चोट लागेको देखिएको छ । गिल भने कोठाको भुइँमा मृत अवस्थामा फेला परेका थिए । उनको शरीरमा भने बाहृय चोटपटक देखिएको छैन । 

घटनास्थल नजिकै फलामको हृयामर र ‘सेल्फोस’ नामक विषादी समेत भेटिएको प्रहरीले जनाएको छ ।