पानीको घुट्को नपाइकनै
तिर्खाहरूको हत्या हुने गर्छ
काकाकुल माहौल, शोकाकुल तृष्णा ओहो !
मेलम्चीको सपना फेरि किन दोहोरिएन
मलाई यो दुनियाँ मनपरेन ।
नुन किन्न गएकी छोरी
कानको सुन लुटाएर, अस्मिता मेटाएर
अपराधका त्रासदीहरूसँगै
भयंकर क्रन्दनहरू लिएर आउँछे
कठै ! त्यो अपराधले लगाएको गुण
छोरीको जीवन सजिएन
समाजको मन फेरिएन
धरौटीमा अपराध अडेन
यो दुनियाँ पटक्कै मनपरेन ।
महङ्गीले निभेको चुलो सल्किएन
गरिवीमा फाटेको आडले मजेत्रो भेटिएन
श्रमको खेतिमा पसिना बिकेन
ओहो ! यो दुनियाँ निमुखाहरूको रहेन
मलाई यो दुनियाँ पटक्कै मनपरेन ।
-अनिता लामा
(२०५६ ज्येष्ठको सम्बोधन साप्ताहिकमा प्रकाशित)
प्रतिकृयाहरु