नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सामाजिक सञ्जाल र विद्युतीय सञ्चार माध्यमहरूमा घृणा एवम् द्वेष फैलाउने सामग्री प्रकाशन नगर्न अनुरोध गरेको छ ।साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालका माध्यमहरूबाट प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको सामग्रीहरू अर्थात् सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, जात जाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका गतिविधि बढी रहेको प्रति ध्यानाकर्षण भएको छ ।

यस्ता सामग्रीहरूमा लाइक गर्ने, ट्याग, कमेन्ट र रिपोष्ट गर्ने जस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै कानुन उल्लङ्घन हुने कुनै पनि गतिविधि भएको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गरिने ब्यहोरा समेत प्रहरीले जानकारी गराएको छ ।